उनको लक्ष्य कसैले उपचारमा सहयोग गरे पढेर स्वाभिमानीपूर्वक बाँच्ने र असल मानिस बन्नेछ ।
देउराली (कास्की)- सँगैका सहपाठीहरू झोलाभरि पुस्तक च्यापेर पढ्न जाँदा यहाँकी १७ वर्षीया सुस्मिता गुरुङ भने विद्यालय जाने बाटो टुलुटुलु हेर्दै घरमै बसिरहेकी हुन्छिन् । प्राथमिक तहसम्म सधैं पढाइमा उत्कृष्ट हुने उनी पिठ्यूँमा अचानक मासुको ढल्लो बढ्दै गएर अहिले हिँड्डुल गर्न नसकेपछि मनभरिको पढ्ने इच्छा दबाएर बस्न बाध्य भएकी हुन् ।
'एउटै कक्षामा पढेका साथीहरू स्कुल जाँदा मलाई पनि त जान मन लाग्छ नि' अपांगताका कारण घरमै बस्नुपरेकोमा रुँदै उनले दुःखेसो पोखिन् । 'घरमा ठूलो परिवार एक्लो बाबाको कमाइले बाँच्नुपरेको छ । खान लाउन त समस्या छ, कसरी उपचार गरिदेऊ भन्ने ?' कास्कीको देउराली ३ बिमिरेकी उनको लक्ष्य कसैले उपचारमा सहयोग गरे पढेर स्वाभिमानीपूर्वक बाँच्ने र असल मानिस बन्नेछ ।
'पोखराको हरियो खर्कमा कृत्रिम खुट्टा र छातीमा लगाउने पेटी दिएका थिए, तर पछि अप्ठ्यारो भएकाले प्रयोग गर्न मिलेन,' स्थानीय विश्वशान्ति उच्च मावि देउरालीमा प्रवेशिका उत्तीर्ण गरेकी उनले भनिन्, 'राम्रोसँग पढेर राम्रो मान्छे बन्ने मेरो चाहना अस्वस्थ्य भएर पूरा हुन सकेको छैन, सहयोग पाएर उपचार गराउन पाए अझै धेरै पढ्ने मेरो इच्छा छ ।'
६ कक्षाको उमेरदेखि नै मासु बढेर उनको मेरुदण्डमा असर पुगे पनि खर्च अभावमा राम्रोसँग परीक्षण र उपचार गराउन नसक्दा अहिले झन् समस्यामा पर्दै गएकी छन् । उनको रोग के हो ? भन्नेबारे परिवार पनि अनभिज्ञ छन् । पिठ्युँमा देखिएको समस्याले अहिले राम्रोसँग हिँड्न, सुत्न सक्दिनन् ।
एक्कासि पिठ्यूँको मासु बढ्दै गएपछि सुरुमा ऋणधन गरेर पोखरामा चिकित्सकलाई देखाए पनि रकम अभावमा थप उपचार गराउन नसकेको आमा गौमायाले दुःखेसो पोखिन् । 'डाक्टरले उपचार त हुन्छ तर बाहिर लानुपर्छ भनेकाले खर्च नभएर मरे पनि बाँचे पनि आफ्नै काखमा होला भनेर घरमै राखियो,' गौमायाले रुदै भनिन्, 'हिजोभन्दा आज झन् समस्या बढ्दै गएकाले हेरेर बस्नै सकिएन, कहीं कसै गरी सहयोग मिलेर निको हुन्छ कि भनेर हार गुहार गर्दै हिँडेका छौं ।'
Comments
Post a Comment